काठमाडौं । जलेर गम्भीर घाइते भएकी गायिका नितु पौडेलले आज कीर्तिपुरस्थित बर्न अस्पतालमा अन्तिम सास फेरेकी छन्।
गत कात्तिक १ गते उनले अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरीको स्टुडियोमा शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन्।
नितु र बाबुलबीच करिब सात वर्षदेखि प्रेम सम्बन्ध थियो। नितु यो सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्थिन्, तर बाबुलको परिवारको असहमति र बाबुलको अनिच्छाका कारण विवाद बढ्दै गएको बताइन्छ।
परिवारले अन्य विवाह प्रस्ताव अघि सारे पनि नितुले इन्कार गर्दै बाबुलसँगै विवाह गर्ने अडान लिएकी थिइन्। उमेरले ३० वर्ष पुगिसकेकी उनलाई विवाहको पारिवारिक दबाब पनि बढ्दै गएको थियो।
नितुलाई नजिकबाट चिनेका एक संगीतकर्मीका अनुसार, दुई वर्षअघि नै उनको परिवारले विवाहका लागि केटा खोजेको थियो। तर नितुले आफू बाबुलसँग सम्बन्धमा रहेको र विवाह पनि उनैसँग गर्ने बताएकी थिइन्। बाबुलको परिवारलाई पनि उनीहरूको सम्बन्धबारे जानकारी थियो।
स्रोतका अनुसार पछिल्ला दिनमा विवाहकै विषयमा उनीहरूबीच विवाद चर्किएको थियो।
उनले भने, ‘बाबुलले विवाह गर्न मानिरहेका थिएनन् भन्ने सुनिन्थ्यो। उनले परिवारको असहमति देखाएर पन्छिन खोजेका रहेछन्।’
रसुवाकी नितु डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिइन्। यद्यपि, करियरले अपेक्षित उचाइ लिन सकेको थिएन। उनले दर्जनभन्दा बढी गीत गाएकी थिइन्, जसमा धेरैमा बाबुलकै संगीत रहेको छ।
संगीतसँगै नितुले अनामनगरस्थित पुरानो गोर्खा एफएम चोकनजिकै चिया पसल पनि सञ्चालन गर्दै आएकी थिइन्। उनको पसल र बसोबास दुबै अनामनगरमै थियो, बाबुलको स्टुडियो पनि त्यहीँ दुई मिनेटको दूरीमा थियो।
घटना भएको दिनको विवरण
कात्तिक १ गते नितुले सामाजिक सञ्जालमा ‘आजको दिन सबैभन्दा ठूलो निर्णय लिँदैछु’ भन्ने स्टोरी पोस्ट गरेकी थिइन्।
त्यसपछि बाबुलले उनलाई फोन गरी, ‘किन त्यस्तो लेखेको? बुबा–आमालाई बोलाऊ, प्रहरी चौकीमा आऊ, म पनि त्यहीँ आउँदैछु। अब कागज गरेर आ–आफ्नो बाटो लागौं,’ भनेका थिए।
त्यो समय नितुका बुबा विराटनगरमा आफन्तकहाँ गएका थिए र आमालाई पनि त्यहाँ बोलाएका थिए। तर नितु काठमाडौंमै एक्ली थिइन्।
त्यसपछि उनी एक्ली नै सिंहदरबार प्रहरी वृत्त पुगेकी थिइन्। बाबुल आउँछन् भन्ने अपेक्षा गरेकी थिइन्, तर उनले फोन नउठाएपछि र दुई घण्टासम्म पर्खिएर पनि नआएपछि नितु आफ्नै चिया पसल फर्किएकी थिइन्।
पसलमा केही समय बसेपछि उनी पेट्रोलको जर्किन बोकेर बाबुलको स्टुडियोतर्फ लागिन्। प्रत्यक्षदर्शीका अनुसार, स्टुडियोमा पुग्दा ढोकामै बाबुलको जुत्ता थियो, जसले उनीभित्रै रहेको सङ्केत गर्थ्यो।
त्यसपछि के भयो भन्ने कुरा बाबुलको बयानका आधारमै सीमित छ। उनका अनुसार, ‘म भित्तातिर फर्किएर काम गर्दै थिएँ, नितु पछाडि थिइन्। मैले थाहा नपाई उनले पेट्रोल छर्किइन् र लाइटरले आगो लगाइन्।’
नितुको परिवार रसुवासँगै काठमाडौंमा पनि बसोबास गर्छ। उनका दुई दाजु अष्ट्रेलियामा छन्।
नितुको चिया पसलमा बेलाबेला आमाले सघाउने गर्थिन्। पसल वरिपरि रहेका स्टुडियोहरूमा उनी चिया पुर्याउने गर्थिन्। बाबुल पनि प्रायः सोही पसलमा आउने र कहिलेकाहीँ नितुकै कोठामा बस्ने गरेको स्रोतहरूले बताएका छन्।
घटनाभन्दा केही दिनअघि नितु उदास देखिन थालेकी थिइन्। बाबुलले अर्की केटीसँग विवाह गर्ने तयारी गरेको हल्ला चलेपछि उनी मानसिक रूपमा तनावमा थिइन्।
तर अहिले बाबुल नितुको आत्मदाह प्रकरणमा प्रहरी हिरासतमा छन्।
नितुको परिवारले उनलाई आत्महत्यामा उक्साएको भन्दै सिंहदरबार प्रहरी वृत्तमा जाहेरी दर्ता गरेको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
नितुले ‘सिठ्ठी मारेर’, ‘आँखैमा पियार मनमा तिर्सना’, ‘हाय हाय शिव हाय हाय’ लगायत गीत गाएकी थिइन्।


