२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:08 am
कला/साहित्य

नेवार समुदायमा चथा पर्व मनाइँदै

सूचना प्रेस २०८३ भदौ २९ सोमबार ००:००, १४:५४ बजे १ मिनेट पढाइ

काभ्रे । नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेश विशेष पूजा आराधना गरी साेमबार चथा पर्व मनाउँदैछन् । उक्त समुदायमा घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा गरी चथा पर्व मनाइने परम्परा छ । उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ ।

पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ । पूजाका सन्दर्भमा घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिनेछ।

चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमले बताए।

चथा पर्वसँग चन्द्रमा सम्बन्धी धार्मिक विश्वास जोडिएको जनविश्वास छ। आजको दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गरिँदासमेत आकाशतर्फ नहेर्ने चलन छ।