सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेनजी आन्दोलनलाई फोहोरको संज्ञा दिएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले आन्दोलनलाई भदौ २४ गते आएको फोहोरको संज्ञा दिएका हुन्। त्यस क्रममा उनले नेपाली कांग्रेस र आफ्नो पार्टी नेकपा एमालेलाई भेरी नदीसँग तुलना गरे। उनले भने, ‘कांग्रेस र एमाले भेरी नदी जस्तै हुन्, जो निरन्तर बगिरहन्छन्।’
जेनजी युवाहरूलाई ‘केटाकेटी’ को संज्ञा दिँदै उनले भने, ‘जति रगत बगाए पनि तपाईं केटाकेटी नै हुनुहुन्छ ।’ मुख्यमन्त्री कँडेलले समाज र देश विकासका लागि दलीय व्यवस्था र पार्टीको भूमिका अपरिहार्य रहेको बताए। समाज चलाउने, देश विकास गर्ने भनेको दलीय व्यवस्थामा पार्टीका माध्यमबाट मात्र भएको उनको भनाइ थियो।


