२६ भदौ २०८३, शुक्रबार 1789128534
समाचार

जनशक्ति अभावमा भोजपुर अस्पतालको सेवा प्रभावित

टक्सार (भोजपुर), ६ मङ्सिर । जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालका उपकरणहरु जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ । सदरमुकाममा रहेको एक मात्र सरकारी भोजपुर अस्पतालमा सङ्घीय सरकारको करिब रु दुई करोडकोे लागतमा सघन उपचार कक्ष (आइसियू) तयार भएको छ । आइसियू तयार भए पनि आवश्यक जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा पवित्रा श्रेष्ठले बताउनुभयो । डा श्रेष्ठले भन्नुभयो, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमा पनि कर्मचारी राख्न सकिएको छैन ।”

नागरिकको स्वास्थ्यका लागि भएको प्रविधि प्रयोगमा आउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारीको भनाइ छ । उहाँले भन्नुभयो, “दुर्गमका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित भई रहेको छ, भोजपुर अस्पतालको समस्या यही हो ।” जिल्ला अस्पतालमा भौतिक रुपमा सुविधा सम्पन्न हुँदै गए पनि आवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौँ जस्ता सुविधा सम्पन्न अस्पताल जानुपर्ने बाध्यता अझै हटन सकेको छैन ।