नयाँ दिल्ली । भारत सरकारले प्रधानमन्त्री कार्यालयको नाम परिवर्तन गरी ‘सेवा तीर्थ’ राखेको छ । साथै देशभरका राजभवनलाई अब ‘लोक भवन’ भनिनेछ भने केन्द्रीय सचिवालयलाई ‘कर्तव्य भवन’को नामले चिनिने भएको छ ।
समाचार एजेन्सी पीटीआईले मंगलबार सरकारी सूत्रहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भने, ‘सार्वजनिक संस्थाहरूमा ठुलो परिवर्तन भइरहेको छ । सत्ताबाट सेवातर्फ अगाडि बढिरहेका छौँ । यी परिवर्तन प्रशासनिक नभई सांस्कृतिक हुन् ।’
यसअघि पनि केन्द्र सरकारले राजपथको नाम परिवर्तन गरी ‘कर्तव्य पथ’ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवास रेस कोर्स रोडलाई पनि सन् २०१६ मा ‘लोक कल्याण मार्ग’ मा परिवर्तन गरिएको थियो ।
राजभवनको नाम किन परिवर्तन गरियो ?
केन्द्रीय गृह मन्त्रालयले गत वर्ष राज्यपालहरूको सम्मेलनमा भएको छलफललाई उद्धृत गर्दै राजभवन नामले औपनिवेशिक मानसिकतालाई झल्काउने बताएको छ । त्यसैले, राज्यपाल र उपराज्यपालका कार्यालयहरूलाई अब लोक भवन र लोक निवासको नामले चिनिनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय अब ७८ वर्ष पुरानो साउथ ब्लकबाट ‘सेवा तीर्थ’ नामको नयाँ अत्याधुनिक क्याम्पसमा सर्ने भएको छ । यो परिवर्तन सेन्ट्रल भिस्टा पुनर्विकास परियोजनाको महत्त्वपूर्ण हिस्सा मानिएको छ । अक्टोबर १४ मा क्याबिनेट सचिव टीभी सोमनाथनले सेवा तीर्थ–२ मा सेना प्रमुखहरूसँग उच्चस्तरीय बैठक गरिसकेका छन् ।


