काठमाडौँ, १९ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ ।
लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ । जितेको खण्डमा चार अङ्क हुनेछ । त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।


