जनकपुरधाम : सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप सबल बनाउने भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिणाले विश्वास व्यक्त गरेका छन्।

भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा बिहीवार जनकपुरधाममा आयोजित डिसी नृत्य प्रस्तुति कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दास समूहद्वारा प्रस्तुत ओडिसी नृत्यका माध्यमबाट भारतीय शास्त्रीय कला नेपाली दर्शकसमक्ष प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत मिणाले भारत–नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यस प्रकारका कार्यक्रमले अझ नजिक ल्याउने उल्लेख गरे। उनले दूतावासले आगामी दिनमा पनि यसैगरी कला, संस्कृति तथा मैत्री सम्बन्ध प्रवर्द्धनका उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाए।
त्यसैगरी कार्यक्रममा जनकपुरधाम उपमहानगरका मेयर मनोज साहले कला-संस्कृति कुनै पनि समाजको पहिचान र गौरव हुने भन्दै भारत–नेपालबीचको सांस्कृतिक सहकार्यले दुवै देशका नागरिकबीच आपसी सद्भाव र निकटता थप मजबुत भएको बताए।
मेयर साहले जनकपुरधाममा यस्तो सांस्कृतिक प्रस्तुति यहाँ आयोजना हुनु स्वयंमा सकारात्मक र प्रेरणादायी भएको उल्लेख गरे।
उपमहानगरपालिकाका तर्फबाट पनि सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय प्रशासक, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। ओडिसी नृत्यका विविध रूप, भाव र कथागाथासहितको प्रस्तुति दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।


