काठमाडौँ । संखुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उदघाटन गरिएको छ । नेपाल–भारत सहकार्य अन्तर्गत भारत सरकारको ४.०२९ करोड रुपैयाँ आर्थिक सहयोगमा चिचिला गाउँपालिका–३ मा दिदिङ आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको हो । भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा उदघाटन गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । भारतीय राजदूतावासका अनुसार ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण सम्पन्न उक्त विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गर्नुभयो । वहाँहरुले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा रहेको भारतीय राजदूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।


