धनगढी । कञ्चनपुर जिल्ला कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीहरूबिच झडप भएको छ । कारागार प्रशासनले उपलब्ध गराउने सेवा–सुविधा र व्यवहारमा विभेद भएको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो ।
झडपमा परी ८ जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कैदीबन्दीहरूका अनुसार कारागार प्रशासनले सबैलाई समान व्यवहार नगरेको र सेवा–सुविधा वितरणमा पक्षपात गरेको भन्दै असन्तुष्टि बढेको थियो ।
विशेष गरी चौकीदार र अन्य कैदीबन्दीबिच खानाको विषयलाई लिएर भनाभन भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा ८ जना जति कैदीबन्दी सामान्य घाइते भएको बताइए पनि ४ जनालाई अस्पतालै लैजानु परेको थियो । कारागार ऐनअनुसार कारागारभित्र असल आचरण र व्यवहार भएका कैदीलाई ’चौकीदार’ वा ’नाइके’ को जिम्मेवारी दिने व्यवस्था छ ।
उनीहरूलाई कारागारको आन्तरिक व्यवस्थापनका लागि ’कमान्डर’ का रूपमा तोकिन्छ। चौकीदारले कैदीबन्दीका समस्या र कारागारको अवस्थाबारे कारागार प्रशासनलाई जानकारी दिने र समन्वय गर्ने काम गर्छन्। तर, तिनै चौकीदार र अन्य कैदीबन्दीबिच समन्वय अभाव र सुविधाको कुरामा विवाद हुँदा शुक्रबारको घटना घटेको बुझिएको छ ।
झडपपछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिएसपी बोहराका अनुसार अहिले कारागारभित्रको अवस्था शान्त भइसकेको छ । प्रशासनले कैदीबन्दीका गुनासाहरू सुन्ने र समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।


