तनहुँ : जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो ।
कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो
टिपर चालक चितवनको राप्ती नगरपालिका-२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका-८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताए । उनका अनुसार मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
त्यसैगरी पृथ्वीराजमार्ग सडकअन्तर्गत बन्दीपुर गाउँपालिका-४ ठूलोढुङ्गा नजिक ग १६ प १६५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । भारतको रडिया थाना गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर-४ डुम्रे बजारमा बस्दै आएका ५५ वर्षीय कुलदेव शाह घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते शाहलाई स्थानीय मोती अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ । टाउँकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक बन्दीपुर-१ किहुँ घर भएका २४ वर्षीय सोमबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


