८ कार्तिक २०८३, आइतबार 11:57 am
समाचार

बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : मौसमविद् विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि नेपालमा प्रवेश गर्ने मौसमी प्रणालीका कारण तीनदेखि चार दिनसम्म वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली र सक्रिय पश्चिमी वायुका कारण मौसममा परिवर्तन आउने देखिएको छ।

भारतको आन्ध्र प्रदेश हुँदै नेपाल प्रवेश गर्ने यो प्रणाली अक्टोबर २७ अर्थात् कात्तिक ११-१२ गतेतिर आइपुग्ने अनुमान गरिएको छ। मंगलबारदेखि नै आकाशमा बादल देखिन थाल्ने र बिहीबार रातिदेखि वर्षा सुरु हुन सक्ने पोखरेलले जानकारी दिए। कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा बागमती प्रदेशका धेरै स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि उल्लेख्य वर्षाको सम्भावना छ।

लगातार वा छोटो अवधिमा हुने भारी वर्षाका कारण लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका २९ जिल्लामा उच्च जोखिम देखिएको छ। विशेषगरी मनाङ जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यसअघि हिमपहिरोको जोखिम रहेको मनाङमा थप वर्षाले समस्या निम्त्याउन सक्ने उनले बताए।

बंगालको खाडीबाट भित्रिने पर्याप्त जलवाष्प र माथिल्लो वायुमण्डलको ट्रफ प्रणालीका कारण वर्षा थप तीव्र हुने सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अन्य क्षेत्रको तुलनामा कम प्रभाव पर्ने आकलन गरिएको छ। मौसम पूर्वानुमान समयसँगै परिवर्तन हुन सक्ने भएकाले अद्यावधिक सूचनामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।