८ कार्तिक २०८३, आइतबार 3:41 pm
समाचार

फ्रान्सको हिंसात्मक प्रदर्शनमा करिब एक हजार पक्राउ

पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध शनिबार देशभर भएको बृहत् प्रदर्शनपछि विभिन्न सहरमा झडप भएका छन् । प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।

दिनभरजसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा राजधानी पेरिस, मार्सेई, लियोँ र बोर्डोलगायत सहरमा हिंसात्मक बनेको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो भने केही स्थानमा सडक अवरुद्ध गरेर आगो लगाइएको थियो ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । तर मजदुर सङ्गठनहरूले सहभागीको सङ्ख्या करिब आठ लाख रहेको दाबी गरेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वी क्षेत्रमा आयोजित मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार मानिस सहभागी भएको बताइएको छ ।

प्रदर्शनलाई हिंसात्मक हुन नदिन सरकारले देशभर ७० हजार प्रहरी र जन्डार्म परिचालन गरेको थियो । यो सङ्ख्या गत साताको तुलनामा १० हजार बढी हो । गत अक्टोबर १७ मा भएको प्रदर्शनपछि व्यापक लुटपाट, तोडफोड र आगजनी भएका थिए । त्यसक्रममा दुई हजार पाँच सयभन्दा बढी मानिस पक्राउ परेका थिए ।