काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभई नयाँ भिजन खोजेको बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् । नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ ।
‘कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन’ गुरुङले भने, ‘कांग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले कांग्रेस यथा अवस्थामै छ ।’ साथै, लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ ।
‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरुलाई पुराना भनेर आरोप गरिरहेका छन्’ गुरुङले भने, ‘उनीहरु एजेन्डाविहीन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।’ निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने उपाध्यक्ष गुरुङले बताए ।


