खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको भीषण विस्फोटमा परी खोटाङका दुई सहोदर दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयको इस्ट जैन्तिया हिल्स जिल्लाको उम्साङघाटस्थित रेट–होल कोइलाखानीमा बिहीबार बिहान भएको विस्फोटमा खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो ।

घटनाको विवरण विस्फोटमा परी ज्यान गुमाउनेको कुल संख्या १८ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खोटाङबाट गत पुस ३ गते रोजगारीका लागि मेघालय पुगेका सात जना नेपालीको टोलीमध्ये विस्फोटमा परेका चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा बराहपोखरीकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुरका ललितबहादुर मगर रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सात जनाको टोलीमध्ये ताराबल मगर मात्र सकुशल छन् । उनले नै फोनमार्फत नेपालमा घटनाबारे जानकारी गराएका हुन् । घटनास्थलमा कोही पनि चिनेजानेका व्यक्ति नहुँदा शव व्यवस्थापन र घाइतेको हेरचाहमा समस्या भएको ताराबलले बताएका छन् ।
अवैध खानी र क्षतिपूर्ति प्रारम्भिक अनुसन्धान अनुसार उक्त खानी अवैध रूपमा सञ्चालन भइरहेको र विस्फोटका लागि डायनामाइट प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यस्तै, मेघालय सरकारले पनि मृतकका परिवारलाई थप ३ लाख भारतीय रुपैयाँ राहत दिने जनाएको छ ।


