२४ भदौ २०८३, बुधबार 1788987632
समाचार

मिथिला माध्यमिकी पारिक्रमा आज जलेश्वर पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ ।

हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै जलेश्वरका लागि निस्किएका छन् । जलेश्वरमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ ।

आज जलेश्वरमा रात्रि विश्राम गरेर भोलि शनिबार मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, ११ औं दिन १४ गते सत्तोषर, १२ औं दिन १५ गते औरही, १३ औं दिन १६ गते करुणा, १४ औं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट १५ औं दिन १८ गते जनकपुरधाम आइपुग्नेछ ।

अन्तिम दिन जनकपुरधाम आइपुग्ने माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ ।

मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।