जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं धनुषा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् । हिजो (आइतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् ।
नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राति सोही स्थानमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका हुन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलमा पारेको आरोप लगाए ।
कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले पहिला रास्वपाका सोही क्षेत्रबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी दोस्रो पटक निर्णय गरेको थियो । र हिजो फेरि अर्को निर्णय गर्दै मुद्दा विचाराधिन रहेको भन्दै निर्वाचन परिणाम घोषणा नगर्न सूचना जारी गरेको थियो ।
रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भए पनि उनलाई सो क्षेत्रमा अन्य सबै उम्मेदवारहरु भन्दा बढी मत परेको थियो । उनीपछि नेकपाका उम्मेदवार यादवलाई १० हजार ४२८ मत परेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहलाई ९ हजार ४८५ र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डललाई ९ हजार २२० मत परेको थियो ।
रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सूचनापछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ ।


