काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ ।
शनिबार गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । पहिलोपटकको म्याद बिहीबार (चैत १९) सकिने भएछि दोस्रोपटक म्याद थप्ने तयारी गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दुवैजनाको म्याद आज थप्ने तयारी भएको बताए । प्रहरीले लेखकलाई म्याद थपका लागि अदालत पेस गर्ने जनाएको छ ।
ओलीलाई उनको स्वास्थ्यावस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइने तयारी प्रहरीको छ । ओली मृगौलासम्बन्धी रोगका कारण महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएका छन् ।
पहिलोपटकको म्याद थप गर्दा पनि प्रहरीले लेखकलाई अदालत हाजिर गराएको थियो भने ओली भर्चुअल रूपमा उपस्थित भएका थिए । लेखक भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा छन् ।
शनिबार पक्राउ परेका लेखकको बुधबारबाट बयान सुरु भएको छ । ओलीको अझै बयान लिइएको छैन ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ओली र लेखकले प्रदर्शन दबाउन बल प्रयोग गर्न निर्देशन दिएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको थियो ।
सोही सिफारिसपछि ओली र लेखक पक्राउ परेका हुन् ।


