५ आश्विन २०८१, शनिबार 1726899562
पालिका

ठेकेदारले टेरेनन् नगरको निर्देशन

खोटाङ्ग । सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पुरा गर्न नसकेको हो ।

मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए ।

नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुःन सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई पनि निर्देशन दिएको थियो ।

दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए ।

निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सुर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो ।