काठमाडौं । अमेरिका र इजरायलले इरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग टापुमा ठूलो आक्रमण गरेको छ । इरानी मिडियाका अनुसार इरानको लागि महत्वपूर्ण स्थान मानिने खार्ग टापुमा श्रृंखलाबद्ध आक्रमण भइरहेको छ ।
खार्ग टापुलाई इरानको अर्थतन्त्रको मेरुदण्ड पनि मानिन्छ, किनकि यसले इरानको कच्चा तेल निर्यातको करिब ८० देखि ९० प्रतिशत हिस्सा ओगटेको छ । यसमा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्की र तेल भर्ने सुविधा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुजको जलडमरू खोल्न दिएको ४८ घण्टाको समयसीमा मंगलबार सकिएसँगै आक्रमण सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


