१३ श्रावण २०८३, बुधबार 1785330451
Banner

होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा, तेलको मुल्य अझै बढन सक्ने

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार सोमबारबाट यो नाकाबन्दी सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘स्ट्रेट अफ हर्मोज’ बाट भित्रिने र बाहिरिने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने चेतावनी दिएपछि यो स्थिति आएको हो । यद्यपि, अमेरिकाले अन्य मुलुकका लागि उक्त मार्ग भएर जाने जहाजमा भने अवरोध नगर्ने प्रस्ट पारेको छ । इरानसँगको यो बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी घोषणा लगत्तै इरानको आईरआरजीसीले कडा प्रतिक्रिया दिएको छ । उक्त समुद्री मार्गमा आउने कुनै पनि सैन्य जहाजलाई ‘कडा कारबाही’ गरिने आईआरजीसीले चेतावनी दिएको हो । इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले इरान धम्कीका अगाडि कहिल्यै नझुक्ने र आत्मसमर्पण नगर्ने बताएका छन् ।

पाकिस्तानमा भएको भनिएको प्रत्यक्ष वार्ता पनि असफल भएपछि यो वातावरण अशान्त बनेको हो । इरानले आफ्नो परमाणु महत्त्वाकाङ्क्षा नत्यागेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको ट्रम्पको दाबी छ । तर, इरानी पक्षले भने दुवै देश सम्झौताको निकै नजिक पुगे पनि अमेरिकाको ‘अधिकतम माग’ र अन्तिम समयमा सर्तहरू फेर्ने प्रवृत्तिका कारण वार्ता भाँडिएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपतिको यो पछिल्लो कदमले अमेरिकाका लागि नयाँ कूटनीतिक र सैन्य चुनौती थपेको विश्लेषण गरिएको छ । एजेन्सी