काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले निजी स्वार्थबाट माथि उठेर गल्ती कमजोरी सच्याउँदै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौँ।’
राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनता र संविधान तथा लोकतन्त्रको रक्षाको लागि सम्पूर्ण देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरू आवश्यकता अनुसार सहकार्य र एकताको निम्ति तयार हुनुपर्ने बताएका छन्। उनले सामाजिक न्यायसहितको समृद्धि आजको प्रमुख राष्ट्रिय कार्यभार भएको औँल्याएका छन्।


