काठमाडौं : नेपाली कांग्रेसभित्रको नेतृत्व विवादसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ। बिहीबार सुरु भएको बहस पूरा नभएपछि सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको थियो।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको प्रारम्भिक सुनुवाइमा पक्ष–विपक्षका तर्क सुन्न थालिए पनि समय अभावका कारण प्रक्रिया अधुरै रह्यो। अब यो मुद्दामा आज (शुक्रबार) पुनः सुनुवाइ हुने तय भएको हो।
यो विवाद पार्टीभित्रैको शक्ति संघर्षसँग जोडिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ समिति चयन गरेपछि विवाद चर्किएको थियो। निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिएपछि पुरानो नेतृत्व अदालत पुगेको हो।
सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो। अहिले सबै पक्षका जवाफ अदालतमा पुगिसकेका छन् र विस्तृत बहस भइरहेको छ।


