काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा, मोटरसाइकलमा सवारमध्ये १ जनाको टिचिङ हस्पिटलमा र अर्का १ जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
उक्त मोटरसाइकल रोकी राखेको बा.९१ प. २६७९ नम्बरको स्कुटरमा ठक्कर खाई अनियन्त्रित भएर प्र.३–०२–००९ प ३९२८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।त्यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–७ सिसवनीस्थित सडकमा प्र.१–०२–०४ ह ०११६ नम्बरको सिटी सफारीको ठक्करबाट साइकल यात्री सोही गाउँपालिका–७ बस्ने ६९ वर्षीय बलराम विश्वासको बुधबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, धनुषाको विदेह नगरपालिका–६ एकराही टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ घर भएका ६० वर्षीय चौधरी मण्डल खत्वेको बिहीबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल तथा चालकको खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


