९ जेष्ठ २०८३, शनिबार 1779560974
Banner

प्रकृतिको पूजा गर्दै उभौली सुरु

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच नाच्ने प्रचलन समेत रहेको छ ।

वैशाख १८ गते । प्रकृतिपूजक किराँत राई समुदायले पूर्वी नेपालमा विशेष रूपमा मनाउने साकेला (उभौली) अन्तर्गत सिली नाचको शुभारम्भ गरी उदयपुरको सदरमुकाम गाईघाटमा यो पर्व भव्य रूपमा मनाउन सुरु गरिएको छ ।

किराँती धामी अर्थात् नाक्सुङले बिहान सबेरै यहाँस्थित साकेला थान, सिकारी थान र माछाकुँ अर्थात् पितृ घरमा तीन चुल्हा सहित सिकारीको पूजा गरेर साकेला नाचको थालनी गरेपछि यो पर्व सुरु भएको हो । विगतमा करिब एक महिनासम्म सञ्चालन हुने गरेको यो चाड यस वर्ष १५ दिनसम्म मनाइने किराँत राई यायोक्खा उदयपुरकी अध्यक्ष गङ्गा राईले बताउनुभयो ।

किराँती वेषभूषामा सजिएर राई समुदायका युवायुवती मात्र नभई अधवैंसे महिला, पुरुष, बालबालिकादेखि वृद्धवृद्धासम्मले ढोल र झ्याम्टाको तालमा सेउली हल्लाउँदै साकेला सिली नाचेर उत्साहका साथ यो पर्व मनाइरहेका छन्। पर्वको अवसरमा गाईघाटस्थित मोतिगढामा जिल्लाका विभिन्न स्थानबाट आएका राई समुदायका मानिसहरू जम्मा भई सामूहिक साकेला सिली नाचको आयोजना गरिएको छ ।

अबको १५ दिनसम्म लगातार सञ्चालन हुने साकेला नाचमा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रका असारी, मोतिगढा, बोक्से, जलजले, बगाहा, रातमाटे, बेल्टार, बसाहा, मुर्कुची लगायतका स्थानबाट सयौँको सङ्ख्यामा सहभागी भई सामूहिक नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

मंसिरे अर्थात् धान्य पूर्णिमामा उधौली र वैशाखी पूर्णिमामा उभौली गरी वर्षमा दुई पटक मनाइने यो पर्व किराँत सभ्यताको विशेष चाड हो । ‘सोइ ढोले सोइ… अर्को ढोले खोइ…’ भन्दै सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै यस पर्वमा चुल्हा पूजा गर्ने, पितृलाई सम्झने र आफन्तजनबिच भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

किराँत राई यायोक्खाका अनुसार ओल्लो किराँत, पल्लो किराँत र माझ किराँतका रूपमा प्रख्यात पूर्वी नेपालका जिल्लाहरू उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, इलाम र झापा लगायतमा यो चाड विशेष उत्साहका साथ मनाइन्छ ।

किराँती धर्म र संस्कार अनुसार जाडो याममा साकेला उधौली र गर्मी याममा उभौली मनाइने गरिन्छ । प्राध्यापक डा. कैलाश राईका अनुसार ‘कार्याङकुरुङ’ प्रजातिको चराको समूह जाडो छल्न बेसीतिर झर्ने समयलाई उधौली (छिरीनाम) र गर्मी छल्न लेकतिर चढ्ने समयलाई उभौली (धिरीनाम) भन्ने गरिन्छ ।

यस अवसरमा अण्डा, भालेको पोलेको मासु, कोदोको जाँड तथा घरमा बनाइएको चोखो रक्सी पितृलाई अनिवार्य चढाएर मात्र सामूहिक भोजन गर्ने परम्परा छ । उभौलीका अवसरमा साकेला थानमा रातो भाले र अण्डाको बलि दिएर भूमि अर्थात् सिकारी पूजा गरिन्छ । त्यसपछि सामूहिक रूपमा गोलो घेरा लगाएर ढोल र झ्याम्टा बजाउँदै खुसी र उमङ्गका साथ सिली नाच नाच्ने गरिन्छ । 

धरान (सुनसरी), १८ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ । विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ । उभौली सुरु भएसँगै अहिले हरेक साकेला थानहरूमा विभिन्न लयका गीतहरू गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्कर देखिन्छ । आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरू अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको देखिन्छ । धरान–१६ नवीन बान्तावा भन्नुहुन्छ, “आजदेखि सुरु भएको किरातीहरूको महान चाड उभौली साकेला अब एक महिनासम्म हामी साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा सजिएर टोलटोलमा गएर नाच्ने गर्छौँ”, उहाँ भन्नुहुन्छ, आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०÷१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको विभिन्न ठाउँहरूमा साकेला नाच्न जाने गरेका छाँैै । आजबाट सुरु भएको उभौलीलाई ऋतु परिवर्तनको सङ्केत दिने चाडको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म किरातीहरूले मनाउने उभौली वसन्त ऋतुको समयमा पर्ने गर्दछ । किरात समुदायले धुमधामसँग मनाउने उभौली पृथ्वीमा कृषियुग सुरु भएदेखि नै मनाउँदै आइएको बूढापाकाहरूको भनाइ छ र यस चाडको पहिलो दिन साकेला थानको वरिपरि चण्डी नाच नाच्दै प्रकृतिको आराधना गर्ने गरिन्छ । पहिलो दिन साकेला थानमा चण्डी नाच नाचिने भएकाले पनि यस पर्वको पहिलो दिनलाई चण्डी पूर्णिमा भनेर पनि चिनिन्छ । धरान–११ का सरस्वती राई भन्नुहुन्छ, “साकेला किरात जातिको पहिचान हो ।” साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलीका रूपमा विभिन्न गीतहरूको प्रस्तुत गरेर नाच्ने गरिएको उहाँले सुनाउनुभयो । आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर विभिन्न साकेला सिलीहरू भाइबहिनीहरूलाई सिकाएर धरानबाहेक पूर्वका विभिन्न ठाउँहरूमा अबको एक महिनासम्म नाच्न जाने गरेका छौँ”, उहाँले भन्नुभयो । दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीव जनावारको हाउभाउ गर्दै नाचिरहेको हुन्छन् । साकेला सांस्कृतिक रूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । साकेला एउटा अद्भूत शक्ति भएको ढुङगाजस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पूजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच आजबाट सुरु भएको छ । उहाँले भन्नुभयो, “विशेषगरी साकेला हजारौँ किसिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिली जस्मा प्रकृतिलाई पुज्ने घाम–पानी हावाहुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पत्ति भएका कीरा फट्याङ्ग्रा, चराचुरुङ्गी झिङ्गाहरूकोे नक्कल गरी नाच्ने गरिन्छ । प्रतिक्रियात्मक सिली हामीले दैनिक रूपमा गरिने क्रियाकलापहरू बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्नेजस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौँ सिली हुन्छन् । यसमा रहेर साकेला नाच्ने गरिएको अध्यक्ष राईको भनाइ छ । किरात समुदायले यस दिनलाई सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको किरात समुदायभित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायतका जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन् । उभौली पर्वलाई किरात समुदायका जातिहरूले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङ जातिले ‘साकेला’ सुनुवारहरूले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरूले ‘तोसी’ लगायतका नामहरूले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ । बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिली लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तामणि राईले बताउनुभयो । पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको उहाँको भनाइ छ । पहाडी भेगमा रामनवमी सुरु भएसँगै साकेला मनाउन सुरु गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किरात राईहरूले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्ने गरिन्छ किरात राई समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ वर्षमा दुईपटक उधौली र उभौलीमा पितृहरूको पूजा अथवा (माङ) गर्ने चलन छ । साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ, आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरू मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । साकेला अथवा उभौली, उधौलीप्रति युवा पुस्ताको चासो बढ्दो देखिन्छ । उभौली साकेलाको अवसरमा, आजको दिन किराती परम्पराअनुसार भूमि पूजन गर्ने पुरानो चलन रहिआएको यस वैशाख पूर्णिमा मौसम र प्रकृतिसँग सम्बन्ध राख्ने चाडको रुपमा बुझ्न र देख्न सकिन्छ । वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भूभागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाईवस्तु गोठहरू पनि मास्तिर सार्ने थाल्ने चलन अहिले पनि छ । चिसो यामको सुरुवातसँगै वासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसम अनुसार तल (उँधो) वा (उँभो) बास्थान सर्ने चलन थोरै नै भए पनि नेपालका केही भागहरूमा अझै पनि यथावत नै रहेको बुढापाखाहरूको भनाइ छ । तराई वा मधेसतिर गर्मी बढ्दै जाँदा माथिल्ला पहाडी र हिमाली भूभागहरूमा समेत मौसम तात्तिदै जान्छ । यसरी गर्मी बढ्दै जाँदा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किरात समुदायद्वारा मनाइने यस चाड ‘उँभो’ शब्दबाट प्रेरित भएर “उभौली” को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ । उभौली धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाच्ने गरिन्छ । विशेषगरी काठमाडौँको टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ । चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली मनाउने प्रचलन छ । किरात जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किरात चाड भनेर घोषणा गरिएको थियो । उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रूपमा मनाउने गरिएको छ । —