४ जेष्ठ २०८३, सोमबार 1779139852
समाचार

डा. ल्हार्क्याल लामा म्यानमारको प्रतिष्ठित “महासद्धम्म जोतिकधज” उपाधिबाट सम्मानित हुँदै

काठमाडौं । बुद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै   खेन्पो छिमेद छेरिङ (डा. ल्हार्क्याल लामा) लाई म्यानमार सरकारले प्रतिष्ठित “महासद्धम्म जोतिकधज” धार्मिक उपाधिबाट सम्मान गर्ने भएको छ ।

म्यानमार संघीय गणतन्त्र सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन (परियत्ति), साधना अभ्यास (पटिपत्ति) तथा बुद्ध शासनको संरक्षण र प्रवर्द्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

सोही क्रममा सन् २०२६ का लागि परमपूजनीय खेन्पो छिमेद छेरिङलाई बुद्धको साँचो धर्मलाई उज्यालो बनाउने महान ध्वजवाहकको रूपमा “महासद्धम्म जोतिकधज” उपाधि प्रदान गर्न लागिएको हो । उक्त सम्मान नेपालका लागि म्यानमारका  नेपालस्थित राजदूत श्री थान्त सिनले आगामी मे २३ तारिख  काठमाडौंको साँखु–शंकरापुर नगरपालिका वडा नं. ८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजना हुने विशेष समारोहबीच प्रदान गर्ने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार समारोहमा विभिन्न धार्मिक व्यक्तित्व, श्रद्धालु तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ । उक्त सम्मानले नेपाल र म्यानमारबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।