१० जेष्ठ २०८३, आइतबार 1779650603
समाचार

ट्रम्पकी छोरीको हत्या योजना बनाएका इराकी व्यक्ति पक्राउ

वाशिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काको हत्या गर्ने योजना बनाएको आरोपमा इरानसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

न्युयोर्क पोस्टलाई उद्धृत गर्दै अल अरेबियाले छापेको समाचार अनुसार ३२ वर्षीय इराकी नागरिक मोहम्मद बाकर साद दाउद अल–सादीले अमेरिकी राष्ट्रपति इभान्का ट्रम्पको हत्या गर्ने ‘कसम’ खाएको आरोप लागेको छ । रिपोर्टअनुसार अल–सादीसँग फ्लोरिडामा रहेको इभान्का ट्रम्पको घरको नक्सासमेत फेला परेको बताइएको छ ।

सुलेमानीको हत्याको प्रतिशोध ?

समाचारमा उल्लेख भएअनुसार अल–सादीले सन २०२० मा कासिम सुलेमानी मारिएको घटनाको प्रतिशोधस्वरूप ट्रम्प परिवारलाई निशाना बनाउन खोजेको आरोप छ । सुलेमानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सअन्तर्गतको कुद्स फोर्सका प्रमुख थिए । उनको बगदादमा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । पूर्वइराकी सैन्य कूटनीतिज्ञ एन्तिफाद कानबारले पनि अल–सादीले सुलेमानीको मृत्यु पछि इभान्का ट्रम्पको हत्या गर्नेबारे कुरा गरेको बताएका छन् । रिपोर्टअनुसार अल–सादीले सामाजिक सञ्जालमा इभान्का ट्रम्प र उनका पति जारेड कुश्नर बस्ने फ्लोरिडाको क्षेत्र देखाउने नक्सासहित अरबी भाषामा धम्कीसमेत पोस्ट गरेको थियो ।

अल–सादीलाई मे १५ मा टर्कीमा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई अमेरिकामा हस्तान्तरण गरिएको बताइएको छ । उनमाथि अमेरिका र युरोपमा भएका १८ वटा आक्रमण तथा आक्रमण प्रयासमा संलग्न रहेको आरोप लगाइएको छ । रिपोर्टमा उनलाई कताइब हिज्बुल्लाह र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीस)सँग सम्बन्धित व्यक्ति भनेर उल्लेख गरिएको छ । उनको नाम एम्स्टर्डम, लन्डन, टोरन्टोलगायत स्थानहरूमा अमेरिकी तथा यहुदी समुदायलाई लक्षित घटनासँग पनि जोडिएको बताइएको छ ।

रिपोर्टअनुसार अल–सादीले अन्तर्राष्ट्रिय यात्रा र लडाकु समूहहरूसँग सम्पर्कका लागि धार्मिक यात्रासम्बन्धी एजेन्सीलाई आवरणको रूपमा प्रयोग गरेको आरोप छ । ह्वाइट हाउसले यस विषयमा प्रतिक्रिया दिएको छैन । साथै अल–सादीका वकिलले पनि टिप्पणी गर्न अस्वीकार गरेको जनाइएको छ । हाल अल–सादीलाई महानगरीय हिरासत केन्द्रमा एकान्त कारावासमा राखिएको छ ।