२० जेष्ठ २०८३, बुधबार 1780478276
कुटनीतिक

भारत–नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी

काठमाडौँ –  नेपालस्थित भारतीय दूतावासले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (आईएन–स्पान) कार्यक्रमको दोस्रो चरण (कोहोर्ट) सुरु भएको घोषणा गरेको छ । यसअन्तर्गत विभिन्न क्षेत्रका २५ नेपाली स्टार्टअपहरू आठ सातासम्म सञ्चालन हुने उद्यमशीलता तथा नवप्रवर्तनसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

दूतावासका अनुसार छनोटमा परेका स्टार्टअपहरू कृत्रिम बौद्धिकता (एआई), जैविक प्रविधि (बायोटेक), स्वच्छ प्रविधि, वित्तीय प्रविधि (फिनटेक), स्वास्थ्य प्रविधि, कृषि प्रविधि (एग्रिटेक), ई–कमर्स, गतिशीलता (मोबिलिटी), उत्पादन तथा निर्माण प्रविधि, द्रुत उपभोग्य वस्तु (एफएमसीजी), एयरोस्पेस, इन्टरनेट अफ थिङ्स (आईओटी) तथा सफ्टवेयर एज अ सर्भिस (सास) लगायतका विविध क्षेत्रमा सक्रिय छन् ।

उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवात्सवले सहभागी स्टार्टअपहरूको विविधताको प्रशंसा गर्नु भयो । उहाँले नेपालका नवउद्यमजीहरूलाई भारतको तीव्र गतिमा विस्तार भइरहेको स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न आग्रह गर्नुभयो। ।

आगामी आठ सातामा सहभागी स्टार्टअपहरूले उद्यमशीलता विकास, कृत्रिम बौद्धिकतासम्बन्धी सीप अभिवृद्धि, लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गर्ने क्षमता विकास (इन्भेस्टमेन्ट पिचिङ) तथा सम्बन्धित क्षेत्रमा कार्यरत भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ र इन्टर्नसिपका अवसर प्राप्त गर्नेछन् ।

भारतीय दूतावासका अनुसार यस कार्यक्रमको उद्देश्य नेपाल र भारतबिच स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउनुका साथै नेपाली नवउद्यमहरूलाई क्षेत्रीय उद्यमशीलता इकोसिस्टमसँग जोडेर उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो ।

कार्यक्रमको उद्घाटन समारोह भारतको आईआईटीएम प्रवर्तक (IITM Pravartak) मा सम्पन्न भएको थियो । कार्यक्रममा Indian Institute of Technology Madras (आईआईटी मद्रास) का प्राध्यापक तथा विज्ञहरू सहभागी थिए । साथै, आईआईटीएम प्रवर्तकका प्रमुख कार्यकारी अधिकृत एम। जे। शंकर रमनको पनि उपस्थिति रहेको थियो ।