२१ जेष्ठ २०८३, बिहिबार 1780593729
समाचार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अधिकारीले चिमोरिया थरका अटोमोबाइल व्यवसायीसँग बारम्बार ब्लाकमेलिङ गरेर साढे चार करोड रूपैयाँ असुलेको आरोप छ । चिमोरियाकै जाहेरीका आधारमा प्रहरीले अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, तुलसा चीन पुगेकी थिइन् ।

रेड नोटिस जारी गरिएकी अधिकारी चीनबाट थाइल्याण्ड पुगेका बेला इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो । तुलसाको २१ करोडको सम्पत्तिको स्रोत समेत अनुसन्धानमा खुल्न सकेको छैन ।