काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।
उक्त विद्यालय भवन उद्घाटनका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लोमान्थाङ पुगेका छन् । उक्त भवन राजदूत श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आइतबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको दुई तले छात्रावास भवनमा चार वटा ब्लक तथा आवश्यक अन्य संरचनाहरू समावेश छन्। परियोजना लोमन्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो । लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ । बौद्ध शिक्षासँगै विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको गुणस्तरीय पाठ्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
उद्घाटन समारोहमा राजदूत श्रीवास्तवले परियोजनासँग सम्बन्धित सबै पक्षलाई शुभकामना व्यक्त गर्दै साझा विकास र समृद्धिका लागि नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दोहोर्याए। कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यालयको आवासीय सुविधा र सिकाइ वातावरणमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६ सय परियोजना अघि बढाइसकेको छ। तीमध्ये गण्डकी प्रदेशमा ६३ वटा तथा मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना रहेका छन्।

त्यसैगरी भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस उपलब्ध गराएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको राजदूतावासले जनाएको छ। राजदूतावासले नेपाल र भारतबीच नजिकको छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई भारतले निरन्तर सहयोग गर्दै आएको जनाएको छ।


