काठमाडौँ १२ असार : जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो ।

खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो । त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो । यसैबीच आजै भएको यसै समुहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ । आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो ।
खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् । समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ । इक्वेडरले चार अङ्क बनायो । एक अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।


