काठमाडौं : नेकपाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता नहुने बताएका छन् ।
आइतबार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ ।
नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।’ उनले एकताको लागि पहिला मन मिल्नुपर्ने बताए ।


