१५ असार २०८३, सोमबार 1782757478
Banner

भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

असार १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५र७६ को स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ ।

आयोगले गरेको अध्ययन अनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख बराबरको रकम विनियोजन भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फर्छ्याैट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो ।

स्वीकृत लागत अनुमान ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ दुई लाख २५ बराबरको बजेट थियो ।

निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ ।

आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहराविरुद्ध २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ ।

छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ ।

बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस