काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तक्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ ।

कार्यक्रममा सहभागी व्यवसायी, नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।
हरित अर्थतन्त्रको नयाँ अवधारणाले विश्वव्यापी रूपमा गति लिइरहेको उल्लेख गर्दै उनले नयाँ विश्वको नेतृत्व लिन सक्षम युवाशक्ति तयार हुनुपर्नेमा जोड दिए । विश्वव्यापी सञ्जाल विस्तार, लगानी आकर्षण तथा रोजगारी सिर्जनामा युवाले अग्रसर रहि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।


