काठमाडौं : रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको मृत्यु भएको छ । जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका जिल्लाको इसनाथ नगरपालिका–३ औरैयामा रामबहादुर साह, उनकी छोरी ज्वाईं वुटन साह र रामाऔतार साह तथा उनका छोरा राम महेश्वर साहबीच जग्गाको विषयमा झगडा भएको थियो ।
कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए । छुरा प्रहारबाट बुटनको ढाडमा गम्भीर घाउ लागेको थियो। उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले बताएको छ। घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न राममहेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

