काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश व्यक्त गरे ।
मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै प्यासी हुनुपर्ने अवस्था आएको भन्दै उनले अब आफू चुप लागेर नबस्ने बताए। सांसद पाण्डेले गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम नै बन्द गरिदिने र पाइप समेत फुटाइदिने धम्की दिए ।
उनले भने, ‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन ।’
पाण्डेले थपे, ‘अस्ति शनिबार जाँदा त्यहाँका बुवाआमाहरू पानी नपाएर रोएको देखेँ । गाग्री बोकेर कति समय पानी खोज्न हिँड्ने ? यो एकदमै संवेदनशील विषय हो ।’
कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाउनुए । उहाँले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ (सञ्जाल) सक्रिय रहेको दाबी गरे ।
‘तपाईँहरूको स्टाफको सञ्जाल यस्तो छ कि साध्यै छैन । आफ्नो मन लागेको बेला मन लागेको टोलमा पानी खोलिदिने, मन नलागेको ठाउँमा नखोलिदिने,’ उनले भने, ‘म सांसद जस्तो मान्छेले त त्यति हण्डर खानुपर्छ भने सर्वसाधारण जनताको हालत के होला ?’
रास्वपाले ‘रकेट शैली’ मा काम गर्ने बाचा गरेर आएको भए पनि सरकारी संयन्त्र र ब्युरोक्रेसी बाधक बनेको उनको गुनासो थियो ।
‘हामी रकेट शैलीमा काम गर्छौँ भनेर यहाँ आएका हौँ, तर कतै केही चेन्ज छैन,’ पाण्डेले भने ।
उनले आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानीट्यांकीमा काम रोकिएको र गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ वडासम्मका जनता सन्तुष्ट नरहेको भन्दै तत्काल अनुगमन र समस्या समाधानका लागि समितिको ध्यानाकर्षण गराए ।
केयूकेएलमा नयाँ आएका नेतृत्वबाट आशा रहेको भन्दै उनले यदि सुधार नभए स्थानीय जनता उठाएर सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिए ।

