कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुऱ्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन्। २१३औँ भानु जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मुख्यमन्त्री पाण्डेका अनुसार भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीता लगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाएका छन्। यी कृतिहरूले विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ।’ संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुऱ्याउने उनको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र नभई राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुऱ्याएको सन्देशमा उल्लेख छ।
विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुऱ्याएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। यस अवसरमा आदिकविले देखाएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गरेका छन्।

