४ आश्विन २०८१, शुक्रबार 1726814898
Banner

कम्फर्टेबल सत्तागठबन्धनः राष्ट्रिय स्वार्थ र क्षेत्रीय हितका लागि खतरा

जनादेशलाई विस्थापित गरेर परमादेशमार्फत सत्ताको तालाचाँवी बुझेको शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन नेपाल र नेपालीका लागि भन्दा दक्षिण र पश्चिमका लागि कम्फर्टेबल बन्ने ढंगले काम गरिरहेको कुरा हामी सबैलाई अवगत भएकै विषय हो। तथापि केही बुर्जुवा मिडिया र विश्लेषकहरूले छरेको भ्रममा परेर जनताले स्थानीय चुनावमा गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसलाई प्राविधिक रूपमा ठूलो दल बन्ने गरी ३२९ पालिकाको प्रमुखमा जिताए। यसका लागि माधव, झलनाथ र प्रचण्डहरू मुख्य सहयोगी बनेका थिए। शेरबहादुर देउवा दक्षिण पश्चिमको आशिर्वादमा प्रधानमन्त्री बनेका थिए भन्ने कुरा घटनाक्रमहरूले पुष्टी गर्दैछ। अझैपनि माझण्डहरू शेरबहादुर देउवालाई प्रधानमन्त्री कै रूपमा निरन्तरता खोज्दैछन् भने हामीले बुझ्नुपर्छ, उनीहरू पनि दक्षिण पश्चिम कै गोटी बनिरहेका छन्।

शेरबहादुर देउवामा कहिल्यै लोकतान्त्रिक चरित्र देखिएन र उनले कहिल्यै पनि लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्न चाहेनन्। यद्दपी उनी लोकतान्त्रिक भनिने दल नेपाली कांग्रेसको बलशाली सभापति र देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा देशको हितमा भन्दा अहितमा क्रियाकलापहरू गर्न उनी सधैं लालायित भइरहन्छन्। अहिले अमेरिकासँग गर्ने भनिएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ ृएसपीपीे त्यसको पछिल्लो बलियो प्रमाण हो। एसपीपी नेपालको हितमा छैन् भन्ने कुरा प्रत्येक सच्चा नेपालीले बुझेर विरोध गर्नुपर्ने भएको छ।

एसपीपी सम्झौतालाई लिएर सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले पनि यो प्रस्तावित सम्झौता नेपालको हितमा छैन् भन्ने स्पष्ट सन्देश दिएको छ। विन्देश दाहाल लेख्छन्, “देउवा देशका लागि जोखिम बन्दै गएका छन्। युक्रेनिकरण गर्ने षडयन्त्रका यी मतियार जतिसक्दो चाँडो सत्ताबाट बाहिरिनु जरूरी छ।”

त्यस्तै प्रकाश तिमिल्सिना लेख्छन्, “अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ल्फिनको भ्रमणले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउनेतर्फ केन्द्रीत देखियो। यो ईण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो। यसलाई एमसीसीको साइड ईफेक्ट भन्नु पर्ला।”

पत्रकार विजय कुमार पाण्डे लेख्छन्, “ कुटनैतिक श्रोतले भन्यो, नेपालले अमेरिकासँग गर्न लागेको भनिएको १० बुँदे एसपीपी सम्झौताको आवरणमा चीनका संवदनशीलतालाई ख्याल राखिएनभने त्यसको परिणाम राम्रो हुने छैन्। हरथोकको एउटा सिमा हुन्छ।”

एसपीपी कसको स्वार्थमा छ ? मूलधारका भनिएका मिडियाहरू यसको पक्ष वा विपक्षमा किन लेख्दैनन् ? आफूलाई विश्लेषक र विज्ञ भन्नेहरू यस सवालमा किन केही बोल्दैनन् र लेख्दैनन् ? परराष्ट्रविद् भन्नेहरू किन मौन छन् ? ठूला पत्रकारहरू कता के गर्दैछन् ? नेपाली कांग्रेसका महासचिवद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाहरू के कति कारणले मौन छन् ? जनतासँग सिधा कुरा कता बांगियो ? पावर न्युजका लागि एसपीपी पावर न्युन किन बन्दैन ? जनता जान्न चाहन्छन् कार्यक्रममा यो मुद्दा किन प्राथमिकतामा परेन ? आदि प्रश्नहरूको उत्तर खोजिनु पर्छ।

दुई ठूला मुलुकहरू भारत र चीनको बीचमा बसेर अमेरिकाको स्वार्थमा गरिने सम्झौता र कार्यक्रमले भोलिका दिनमा नेपालको राष्ट्रिय स्ववभिमान र सार्भवभौमसत्तामाथि संकट आउन सक्छ। तर नेपाली कांग्रेसको नेतृत्वमा रहेको यो कम्फर्टेबल सत्ता गठबन्धनले अमेरिकी स्वार्थलाई प्राथमिकता दिएर क्रियाकलापहरू गरिरहेको छ। त्यसैले यस्ता राष्ट्रिय स्वार्थ विपरीत हुन खोजेका सम्झौताका विरूद्ध जनताले सचेततापूर्ण खबरदारी गर्नुपर्ने भएको छ। यतिखेर शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सत्ता गठबन्धनले नेपालको होइन, दक्षिण पश्चिमको स्वार्थमा काम गरिरहेको छ। यस्तो स्थितिमा माझण्डहरू अझैपनि देउवाको टेको बनिरहन्छन् कि नेपालको राष्ट्रिय स्वार्थमा गठबन्धनबाट बाहिर निस्कन्छन् ? जनचासोको विषय र प्रश्न बनेको छ।

दक्षिणमार्फत फिजिकरण त पश्चिममार्फत युक्रेनीकरण गरेर नेपालमा नियन्त्रित अस्थिरता बढाएर नेपालको एक चीन नीति कमजोर बनाउने रणनीतिको मुख्य सहयोगी बनिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सत्ता गठबन्धनलाई जतिसक्दो चाँडो सत्ताबाट हटाउनु देशको हितमा हुनेछ। त्यसैले गठबन्धन भत्काऔं र देश जोगाऔं भन्ने नारालाई जनताको माग बनाउनु पर्ने भएको छ।

अहिले शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सत्ता गठबन्धन असल सहयोगी बन्दा दक्षिण पश्चिमले आफ्नो प्रभाव, दबाव र क्रियाशीलता बढाएर नेपालमा नियन्त्रित अस्थिरता बढाउन खोज्दैछ। पछिल्लो समय अमेरिकी अधिकारीहरूको बढ्दो सक्रियता र नियमित भ्रमण अनि अमेरिकासँगको प्रस्तावित एसपीपी सम्झौता गर्ने तयारी र सेती परियोजना भारतलाई दिने देउवा सरकारको निर्णय त्यसको प्रमाण हो।

हामीले बुझ्नुपर्छ, आन्तरिक राजनीतिमा दक्षिण पश्चिमको प्रभाव विस्तार गर्ने रणनीतिबमोजिम नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउने र केपी ओली नेतृत्वको जनादेश प्राप्त सरकार परमादेशबाट विस्थापित गरिएको थियो। यसका लागि उनीहरूले माझण्डहरूमाथि ठूलै लगानीसहित दबाव बढाएका थिए। यही सत्यतथ्य स्पष्ट रूपमा जनतालाई बुझाउन नसक्दा एकातिर निर्वाचनमा कम्फर्टेबलवादीहरू बलशाली देखिएभने अर्कातिर देश दक्षिण पश्चिमको चलखेलको केन्द्र बन्ने अवस्था सिर्जना भएको छ। त्यसैले कम्फर्टेबल सत्ता गठबन्धन नेपालको राष्ट्रिय स्वार्थ र क्षेत्रीय हितका लागि पनि खतरा बन्दैछ भनेर ढिला नगरी हामीले जनतालाई बुझाउनु पर्ने भएको छ।