काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउँदै सीप विकासका कार्यक्रमहरू निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकहरूको तुलनामा निकै कमजोर रहेको बताए।
हाल उपलब्ध तथ्याङ्कअनुसार नेपाल तलबाट तेस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले हाल भइरहेका सीप विकासका प्रयासहरू छरिएका र नतिजामुखी हुन नसकेको टिप्पणी गरे। अध्यक्ष पाण्डेले सरकारी स्तरबाट हुने तालिमहरू विभिन्न १७ वटा मन्त्रालय र विभागहरूबाट छरिएर सञ्चालन हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। १ सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा कमजोर मानव संशाधन मुख्य चुनौती बन्न सक्ने उनको तर्क छ। तालिम केन्द्रहरूले कति सङ्ख्यामा जनशक्ति उत्पादन गरे भन्ने ‘आपूर्ति केन्द्रित’ सोचभन्दा पनि उद्योगलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने ‘माग केन्द्रित’ पद्धति अपनाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष पाण्डेले परिसंघ आफैँले केही समयअघि ३ हजार ३ सय ७५ जनालाई तालिम दिएर ३ हजार २ सय जनालाई रोजगारी दिलाउन सफल भएको जानकारी दिए। सरकारले ल्याएका कतिपय प्रशिक्षार्थी कार्यक्रमहरू कार्यविधिको जटिलताका कारण पूर्ण सफल हुन नसकेको भन्दै उनले कार्यविधिमा समयसापेक्ष सुधारको माग गरे।
‘हालैका विभिन्न प्रतिवेदनहरूले पनि देखाएका छन् कि नेपालले प्रयास नगरेको होइन,’ अध्यक्ष पाण्डेले भने, ‘तर ती प्रयासहरू छरिएर भएका कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन।’ विभिन्न मन्त्रालय र निकायले छुट्टाछुट्टै रूपमा तालिम सञ्चालन गर्दा प्रभावकारी नतिजा आउन नसकेको उनले औँल्याए। ‘उदाहरणका लागि, दुई वर्षअघिको सिटिटिइभीटीको तथ्यांकअनुसार भर्ना दर ५१ प्रतिशत, तालिम पूरा गर्ने दर ४७ प्रतिशत र रोजगारी प्राप्त गर्ने दर ४९ प्रतिशत थियो,’ उनले थपे, ‘समग्रमा हेर्दा करिब १५–१६ प्रतिशत मात्रै वास्तविक उपलब्धि हासिल भएको देखिन्छ।’
उनले यसमा अब व्यापक सुधार आवश्यक रहेको भन्दै उद्योगको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र व्यवसाय सञ्चालनको लागत सबै दक्ष जनशक्तिमा निर्भर हुने स्पष्ट पारे। देशले आर्थिक विकासका ठूला लक्ष्य हासिल गर्न मानव पुँजीलाई सुदृढ बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ। ‘हाम्रो अन्तिम रोजगारदाता निजी क्षेत्र हो, त्यसैले सीप विकास प्रणाली मागमा आधारित हुनुपर्छ,’ उनले भने, ‘उद्योगलाई कस्तो जनशक्ति चाहिन्छ भन्ने आधारमा मापदण्ड, पाठ्यक्रम, तालिम, मूल्याङ्कन र प्रमाणीकरणसम्म निजी क्षेत्रको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्छ।’ यसरी मात्र उद्योगका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सकिने र स्वदेशमा उद्योगलाई सहयोग पुग्ने तथा विदेशमा गए पनि राम्रो आम्दानी गर्न सक्ने आधार तयार हुने उनले बताए।
उद्योगहरूको मानव संशाधन नीतिसँग मेल खाने गरी सरल भर्ना प्रक्रिया, साना उद्योगहरूका लागि सामूहिक तालिमको व्यवस्था र ठूला उद्योगका हकमा ६ महिनाभन्दा बढी अवधिको तालिमको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने उनको सुझाव छ। मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन हुँदा उद्योगको प्रतिस्पर्धी क्षमता बढ्ने र वैदेशिक रोजगारीमा जानेहरूले पनि उच्च पारिश्रमिक पाउने निश्चित रहेको उनले स्पष्ट पारे। सीप विकास र प्राविधिक शिक्षा (टीभीईटी) क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि मन्त्रालयसँग राष्ट्रिय स्तरमै प्रणालीगत सुधार गर्न परिसंघ प्रतिबद्ध रहेको अध्यक्ष पाण्डेले बताए।

