काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सरकारले आफूलाई सुरक्षा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । देशभित्र कतै पनि सुरक्षित महसुस नभए विदेश जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ ।
पत्रकार विनोद ढुङ्गेलसँगको अन्तर्वार्तामा नेपालले अरु पूर्वप्रधानमन्त्रीले सरकारबाट गाडी सुविधा पाएको भए पनि आफूलाई त्यो सुविधा नदिइएको गुनासो गरे । उनले सरकारले दिनुपर्ने सुरक्षा माग्न आफू नजाने पनि स्पष्ट पारे ।
“म हजुर (हात जोड्दै) मलाई सुरक्षा चाहियो भन्छु म ? यो देशले सुरक्षा दिँदैन भने सुरक्षाको निम्ति म सोचौँला ।” नेपालले भने, “यो काठमाडौंले सुरक्षा दिएन भने रौतहटमा जाउँला । रौतहटले दिन सकेन भने देशको कुनै ठाउँ हेरौँला । देशको कुनै जङ्गल पनि सुरक्षित भएन भने विदेशमा गइदिउँला । गर्ने के त ? सरकारलाई म हारगुहार गर्छु ? सरकारको काम होइन ?”
अन्तर्वार्ताका क्रममा पत्रकार ढुङ्गेलले विदेश जानुभन्दा त आफ्नै देशको सरकारसँग हारगुहार गर्नु राम्रो हाला भनेपछि नेपालले आफ्नो स्वाभिमानको प्रसंग उठाउँदै सरकारसँग हारगुहार नगर्ने अडान दोहोर्याए । “किन हारगुहार गर्छु म ? स्वाभिमानभन्दा ठूलो कुरा केही हुन्छ ?” नेपालले भने ।
ढुङ्गेलले विदेश जाँदा के स्वाभिमान हुन्छ र भन्ने प्रश्नमा नेपालले भने, “जहाँ जसले मलाई राम्रो सम्मान दिन्छ भने किन जान्न म ? जब यो सरकारले मलाई अपहेलना गर्छ, बेवास्ता गर्छ, हँ ? मेरो अस्तित्वलाई मतलबै राख्दैन भने मैले के गर्छु ? गर्नु के पर्यो ? धर्तीमै बस्नु पर्यो ? जङ्गलमा बस्न भएन ।” सरकारले आफूलाई अपहेलना र बेवास्ता गरेको महसुस भएको भनाई पूर्वप्रधानमन्त्री नेपालको थियो ।

