काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकासहित विभिन्न जिल्लामा उत्पन्न तनावग्रस्त परिस्थितिको तत्काल संवादमार्फत समाधान खोज्न अपिल गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनामा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता, सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूसँग म निम्नअनुसार अपिल अपिल गर्दै संयमता र सामाजिक सद्भाव कायम गर्न भनेका छन् ।
‘नागरिकहरूबिचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो’, ओलीले भनेका छन्, ‘जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।’

