काठमाडौं । डा. धवलशम्सेर राणाले सरकारलाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न आग्रह गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तत्काल रिहाइको माग गरेका छन् ।
स्वतन्त्र अभिव्यक्ति दिएकै आधारमा कसैलाई पक्राउ गर्नु गलत भएको बताउँदै राणाले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको रिहाइको माग गरेका हुन् ।
‘विश्वव्यापी रूपमा स्थापित मानवअधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ’, राणाले विज्ञप्तिमा भनेका छन्, ‘उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’
प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले गएराति पक्राउ गरेको थियो । पक्राउ पर्नुअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका थिए । त्यसको केही घण्टापछि प्रसाईं पक्राउ परेका थिए ।

