काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले समीक्षा अवधिमा उक्त रकम घटाएर २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँमा सीमित गरेको छ । यसले बैंकको नाफा वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको देखिएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकले सेयरधनीलाई प्रतिकित्ता १९ रुपैयाँ १० पैसा लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त पूँजीमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर पनि समावेश छ । बैंकको जगेडा कोषमा ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै, बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा कायम रहेको छ ।

