नयाँदिल्ली । मनसुनी वर्षा अहिले देशभरका मानिसहरूका लागि पीडाको कारण बनेको छ । उत्तर प्रदेशमा भइरहेको लगातारको वर्षाका कारण नदीहरूको जलस्तर बढेको छ । फर्रुखाबाद जिल्लामा गङ्गा नदीको बाढीको पानी ३३ वटा गाउँ र ४० वटा सरकारी विद्यालयमा पसेको छ ।
बलियामा पछिल्लो एक साताको अवधिमा सरयु नदीले २७ वटा घर बगाएको छ । वाराणसीमा गङ्गा नदीको पानी ४० देखि ५० वटा साना मन्दिरहरूमा पसेको छ । यसैबीच, प्रतापगढमा लगातारको वर्षाका कारण एक शताब्दी पुरानो घर भत्किँदा एउटै परिवारका ६ जना सदस्यको मृत्यु भएको छ । उत्तराखण्डमा गएरातिदेखि नै लगातार वर्षा भइरहेको छ ।
खराब मौसमलाई मध्यनजर गर्दै देहरादून, चमोली, बागेश्वर, रुद्रप्रयाग र पौडी गढवालमा कक्षा १२ सम्मका विद्यालय तथा आँगनवाडी केन्द्रहरू बन्द गरिएका छन् । रुद्रप्रयागमा भएको भारी वर्षापछि तिलवारा नजिकै केदारनाथ राजमार्गमा पहाडबाट बगेर आएको लेदो र पानीले सडक ढाकेको छ, जसका कारण थुप्रै सवारी साधनहरू हिलो र ढुङ्गा माटोको थुप्रोमा पुरिएका छन् ।
यसैबीच, असममा बाढीको अवस्था गम्भीर बनेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै यस मनसुनयाममा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । धानसिरी नदी खतराको सतहभन्दा माथि बगिरहेको छ, जसका कारण १४ जिल्लामा उच्च सतर्कता जारी गरिएको छ । राज्यका ५६३ गाउँका १ लाख ६० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् ।

