रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रक अनियन्त्रित हुँदा पाँच वटा सवारीसाधनमा ठक्कर लागेको छ । दुर्घटनापछि हेटौंडा–पथलैया सडकखण्ड करिब चार घण्टा ठप्प भएको छ ।
शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको एचआर ६९ डी ७९६९ नम्बरको भारतीय ट्रेलरले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गरेको थियो। त्यसपछि अनियन्त्रित भएको ट्रेलरले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका पाँच वटा सवारीसाधनलाई एकपछि अर्को ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँचवटै सवारीसाधनमा क्षति पुगे पनि मानवीय क्षति भने हुनबाट जोगिएको छ । दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन् ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ सई प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बारा प्रहरी प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी)को अगाडिको भागमा क्षति पुगेको छ । उक्त कार चितवन भरतपुर महानगरपालिका–१० का मनोज गुरुङले चलाएका थिए ।
त्यस्तै, लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यानको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ । उक्त भ्यानका चालक नवलपुर नगरपालिका–८ का दुर्गाबहादुर पौडेल हुन् ।
बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यानको अगाडिको भाग कुच्चिएको छ । उक्त भ्यान चितवन भरतपुर महानगरपालिका–११ का आसिस श्रेष्ठले चलाएका थिए ।
यसैगरी, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअपको बायाँ भागमा क्षति पुगेको र अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । उक्त पिकअपका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमानेका राजुकुमार भेटवाल हुन् ।
बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीको अगाडिको भाग समेत कुच्चिएको छ । उक्त गाडीका चालक हेटौंडा उपमहानगरपालिका–९ का नितेश पौडेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि सडक केही समय एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो । दुर्घटनास्थलमा ट्रेलर थन्किएपछि राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित भएको थियो ।
क्रेनको सहयोगमा दुर्घटनाग्रस्त भारतीय ट्रेलर हटाउनुका साथै अन्य साना सवारीसाधनसमेत घटनास्थलबाट हटाइएपछि शनिबार बिहान करिब २ बजे हेटौंडा–पथलैया सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । फरार भारतीय गाडी चालकको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

