२५ श्रावण २०८३, सोमबार 1786359542
विश्व

हतियार भण्डार घटेपछि अमेरिकी हतियार उत्पादन तीव्र पार्न पेन्टागनको आग्रह

काठमाडौं । इरानसँग जारी युद्धमा प्रयोग भएर घट्दै गएको हतियार भण्डार पुनः भर्न अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न पेन्टागनले आग्रह गरेको छ ।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा युद्धमा खटिने अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन मन्त्रालयले गोलाबारुद खरिद बढाउन काम गरिरहेको बताएका छन् । उनले खतराको मागअनुसार सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन खरिद प्रक्रिया तीव्र पार्न खोजिएको बताएका छन् ।

उनले यो प्रक्रिया तीव्र पार्न पेन्टागनले गरेका प्रयासको पुष्टि गर्दै पाँच महिनादेखि जारी द्वन्द्वपछि मात्र सुरु नभएको दाबी गरेका छन् । त्यसअघि नै सुरु गरिएको सैन्य आधुनिकीकरण प्रयासको हिस्सा भएको बताएका छन् ।

‘द वासिङ्टन पोस्ट’ले प्राप्त गरेको एक मेमोअनुसार, उपरक्षामन्त्री स्टिभ फेनबर्गले बुधबार रक्षा उद्योगका प्रमुखहरूलाई पत्र लेख्दै महत्वपूर्ण क्षमताका लागि अझ तीव्र र आक्रामक उत्पादन सुनिश्चित गर्ने योजना पेस गर्न २१ दिनको समय दिएका छन् ।

फेनबर्गले वर्षौं लामो विकास चक्र स्वीकार्य नभएको उल्लेख गर्दै कार्यक्रमको समयतालिका तत्काल छोट्याउन र उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताएका छन् ।

इरानसँगको हालैको युद्धमा अमेरिकी सेनासँग पहिल्यै घटिसकेको उन्नत क्षेप्यास्त्र इन्टरसेप्टरको भण्डार थप प्रयोग भएपछि यो मेमो आएको हो । विज्ञहरूका अनुसार आक्रामक र रक्षात्मक दुवै प्रकारका हतियारको अभावले अमेरिकी सेनाको सुरक्षामा जोखिम बढाउन सक्छ ।

वासिङ्टनस्थित थिंक ट्यांक ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को विश्लेषणअनुसार, पेट्रियट र थाड इन्टरसेप्टरको मौज्दात घटेका कारण अमेरिका र उसका मध्यपूर्वी सहयोगीहरूले ती वायु रक्षा प्रणाली जोगाउन ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउन सक्छ ।

उदाहरणका लागि, अमेरिकी सेनाले इरानबाट आउने ड्रोन र क्षेप्यास्त्रविरुद्ध कम इन्टरसेप्टर प्रहार गर्नुपर्ने हुनसक्छ । यसले कुनै क्षेप्यास्त्र वा ड्रोनले आफ्नो लक्ष्यमा प्रहार गर्न सफल हुने जोखिम बढाउन सक्छ ।

ट्रम्पले भने– अमेरिकासँग पर्याप्त गोलाबारुद छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार अभावबारे सार्वजनिक भएका समाचारप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार उनले पाँच महिनाको युद्धपछि अमेरिकी हतियार भण्डारको अवस्थाबारे कुरा गर्दै अमेरिकाले कुनै रणनीतिक घाटा नव्यहोरेको बताए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा अमेरिकासँग विशेषगरी केही निश्चित प्रकारका गोलाबारुदको विशाल भण्डार रहेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकामा ठूलो मात्रामा हतियार उत्पादन भइरहेको छ । आवश्यकताअनुसार ती हतियार पठाइँदै छन् ।

उनले रक्षा ठेकेदारहरूले अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो संख्यामा प्लान्ट र कारखाना निर्माण गरिरहेको समेत बताए ।

शनिबार पेन्टागनका प्रवक्ता पार्नेलले हतियार उत्पादन तीव्र पार्न माग गर्ने फेनबर्गको मेमो वास्तविक भएको पुष्टि गरेका छन् ।

उनका अनुसार यसले अमेरिकी कंग्रेसमा बजेटका लागि पेस गरिने आर्थिक वर्ष २०२८ को बजेट निर्माणमा आवश्यक जानकारी प्रदान गर्नेछ । यो रक्षा औद्योगिक आधार पुनर्निर्माण गर्ने पेन्टागनको जारी प्रयाससँग पूर्ण रूपमा मेल खाने उनले बताएका छन् ।

रक्षा खर्चसम्बन्धी विधेयक हाल अमेरिकी कंग्रेसमा रोकिएको छ । सांसदहरू इरानविरुद्ध ट्रम्पले गरेको सैन्य कारबाहीप्रति असन्तुष्ट छन् । उनीहरूले पेन्टागनको खर्च गत वर्षको करिब ९०० अर्ब डलरबाट बढाएर १.५ ट्रिलियन डलर पुर्‍याउने ह्वाइट हाउसको प्रस्तावको समेत विरोध गरिरहेका छन् ।

विज्ञहरूले बजेट बढाइए पनि पेट्रियट र थाड इन्टरसेप्टरको मौज्दात युद्धअघिको अवस्थामा फर्काउन कम्तीमा तीन वर्ष लाग्ने चेतावनी दिएका छन् ।

‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ले गत महिना गरेको अनुमानअनुसार, युद्धअघि अमेरिकासँग दुई हजार ३३० वटा पेट्रियट इन्टरसेप्टर थिए । अप्रिलमा युद्धविराम लागु हुँदासम्म यो संख्या घटेर एक हजार ३० मा पुगेको थियो ।

हालैको युद्धपछि पेट्रियट इन्टरसेप्टरको मौज्दात ७५९ देखि ८२७ को बीचमा रहेको अनुमान गरिएको छ । यो द्वन्द्व सुरु हुनुअघिको मौज्दातको तुलनामा कम्तीमा ६५ प्रतिशत कमी हो ।

त्यस्तै, थाड इन्टरसेप्टरको संख्या युद्धअघि ४५२ रहेकोमा अप्रिलमा युद्धविराम सुरु हुँदासम्म २३२ देखि २६२ को बीचमा झरेको ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ले जनाएको छ ।

अमेरिकाले केही मौज्दात पुनः भरेर थाड इन्टरसेप्टरको संख्या २३४ देखि २७८ पुर्‍याउन सफल भएको थियो । तर, यो संख्या पनि द्वन्द्व सुरु हुनुअघिको तुलनामा अझै कम्तीमा ३८ प्रतिशत कम हो ।

लकहिड मार्टिन र नर्थरोप ग्रुम्मानसँग नयाँ सम्झौता
यसै महिनाको सुरुमा अमेरिकी रक्षा मन्त्रालयले मिसाइल प्रतिरक्षा प्रणालीमा प्रयोग हुने पार्टपुर्जाको उत्पादन क्षमता बढाउने प्रयासस्वरूप रक्षा क्षेत्रका दिग्गज कम्पनी ‘लकहिड मार्टिन’ र ‘नर्थरोप ग्रुम्मान’सँग नयाँ सम्झौता गरेको थियो ।

तर, अमेरिकी हतियार भण्डारको अवस्थालाई लिएर विज्ञहरूले अझै चिन्ता व्यक्त गरिरहेका छन् ।

‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को विश्लेषणका लेखकहरूमध्ये एक, सेवानिवृत्त अमेरिकी मरिन कर्प्स कर्नेल मार्क क्यान्सियनले बुधबार अल जजिरासँग अमेरिकी सेनासँग बाँकी रहेका इन्टरसेप्टरको संख्या धेरै नभएको र त्यसको राम्रो विकल्प पनि नरहेको बताएका छन् ।

उनका अनुसार पेट्रियट इन्टरसेप्टरको भण्डार सकिएमा इरानी क्षेप्यास्त्रहरूले अमेरिकी वा सहयोगी पक्षका लक्ष्यलाई सिधै प्रहार गर्ने जोखिम बढ्नेछ । अलजजिरा