एजेन्सी- सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदलाई सिरियाली अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। गृहयुद्धका क्रममा युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमै अदालतले मृत्युदण्डको फैसला सुनाएको बिबीसीले जनाएको छ।
यो असदविरुद्ध भएको पहिलो अदालती फैसला हो। सन् २०२४ को डिसेम्बरमा उनको शासन पतन भएपछि उनी परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। असदका काका तथा दक्षिणी सिरियाको दरा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व प्रमुख आतिफ नाजिबलाई पनि मृत्युदण्डको फैसला सुनाइएको छ।

उनलाई अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले फैसला सुनाउँदा उनी भने अदालतभित्रको कठघरामा उपस्थित थिए।
दरा शहरलाई असद शासनविरुद्धको विद्रोहको उद्गमस्थलका रूपमा लिइन्छ।
सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेखेको आरोपमा पक्राउ परेका केही किशोरमाथि हिरासतमा यातना दिइएको घटनाले दरामा प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले ती प्रदर्शनमाथि गरेको हिंसात्मक दमनले देशभर विरोध प्रदर्शन फैलाउन मद्दत गर्यो। पछि यही आन्दोलन गृहयुद्धमा परिणत भयो, जसमा लाखौँ मानिस मारिएका थिए।

