धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिने तयार गरेका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । कांग्रेससँग १८ सांसद छन् भने नेकपासँग २१ र एमालेसँग ११ सांसद छन् । नेकपाका एक सांसद निलम्बित छन् ।
एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनिसकेको छ । जसकारण शाहले विश्वासको मत प्राप्त गर्ने सम्भावना छैन । मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । एमाले र नेकपाबीच सहमति अनुसार नेकपाले प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

