काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सिन्धु जल सन्धिबारे भारतलाई फेरि चेतावनी दिएका छन् । शुक्रबार पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा इस्लामावादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शहबाजले उक्त चेतावनी दिएका हुन् । उनले पाकिस्तानको पानीको हिस्साका सम्बन्धमा कुनै नयाँ सम्झौता नहुने स्पष्ट पारे। प्रधानमन्त्री शहबाजले भारतले यसलाई रोक्ने वा घटाउने कुनै पनि प्रयासको उपयुक्त जवाफ दिइने चेतावनी दिए ।
सन् २०२५ मा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले सिन्धु जल सन्धि स्थगन गर्ने निर्णय गरेको थियो । त्यसयता यो विषय दुई देशबीच तनावको मुख्य कारण बनेको छ । भारतले पाकिस्तानले सीमापार आतंकवादविरुद्ध ठोस र विश्वसनीय कदम नचालेसम्म सन्धि स्थगन कायमै रहने बताउँदै आएको छ । पाकिस्तानले उक्त सन्धि कानुनी रूपमा बाध्यकारी रहेको र यसलाई एकपक्षीय रूपमा स्थगन गर्न नसकिने बताउँदै आएको छ । सन् १९६० मा भारत र पाकिस्तानबीच सिन्धु जल सन्धि भएको थियो ।
प्रधानमन्त्री शहबाजले पाकिस्तान आफ्ना छिमेकीहरूसँग शान्ति चाहने तर शान्तिको यो चाहनालाई कमजोरी ठानिनु उचित नहुने बताए । साथै, शहबाजले भारत सही बाटोमा फर्कनुपर्ने बताउँदै अन्यथा उसले उपयुक्त जवाफ पाउने दोहोर्याए ।
यसैगरी, शाहबाजले कश्मीरबारे पाकिस्तानको अडान कहिल्यै नबदलिने पनि स्पष्ट पारे । शाहबाजले पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिरको प्रशंसा गर्दै उनको नेतृत्वमा पाकिस्तानले भारतलाई पराजित गरेको दाबी गरे ।
शाहबाजले सन् २०२५ मा भारत र पाकिस्तानबीचको द्वन्द्वको मोड बदल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक भूमिका खेलेको स्मरण गरे । उनले ट्रम्पको प्रशंसा गर्दै ट्रम्पको पहलका कारण नै समयमै युद्धविराम सम्भव भएको दाबी गरे ।

