काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए ।
“यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने ।
पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै उनले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए । पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।
अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो ।
अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताए । “नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उनले भने ।
विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै व्यक्तिगत लाभको सोचभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उल्लेख गर्दै अर्यालले यसका लागि पर्यटन व्यवसायीहरूको समेत सहयोग र सक्रिय भूमिका आवश्यक रहेको बताए ।
“होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने ।
अर्यालले पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको भन्दै अब सरकार असफल हुने छुट नरहेको बताए । “मुलुक समृद्ध हुनैपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उनले भने ।

