काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय युवाहरूलाई भड्काउने प्रयास भइरहेको दाबी गरेका छन् ।
८० औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार नयाँदिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
हालैको राजधानीको जन्तरमन्तरको विरोध प्रदर्शनको उल्लेख नगरी मोदीले ‘बौद्धिक नक्सलहरु’ले देशका युवाहरुलाई भड्काएर भ्रममा पारेको दाबी गरे । उनले देशलाई ‘बौद्धिक नक्सलहरु’बाट जोगाउनुपर्ने बताए । साथै, मोदीले देशलाई नक्सलवादीहरूबाट मुक्त गर्न सफलता पाएको र सशस्त्र नक्सलवादीहरू हटेको तर वैचारिक नक्सलवादीहरू अझै रहेको बताए । मोदीले उनीहरू राष्ट्रलाई हिंसातर्फ धकेल्न उद्यत रहेको आरोप लगाए ।
‘हामीले यी बौद्धिक नक्सलवादीहरूको पहिचान गरी उनीहरूलाई अलगथलग पार्नुपर्छ । सुरक्षित भारत निर्माण गर्नु हाम्रो दायित्व हो । हाम्रा सीमाभित्र वा बाहिर जहाँसुकैबाट आइपर्ने सुरक्षा चुनौतीहरूको सामना गर्न हामी तयार छौँ ।’ मोदीले भने ।
यस्तै, उनले युवाहरूका लागि पनि महत्त्वपूर्ण घोषणा गर्दै सरकारले आगामी वर्षभित्र १ करोड युवालाई एआईसम्बन्धी सीपको तालिम प्रदान गर्ने बताए ।
‘लाल किल्लाबाट म देशका युवाहरूका लागि एउटा घोषणा गर्न चाहन्छु । आगामी वर्षमा हामी एक करोड मानिसलाई एआईसम्बन्धी सीप सिकाउन काम गर्नेछौँ, ताकि हाम्रा युवाहरूमा एआईको विश्वमा नेतृत्व गर्ने क्षमता होस् ।’ मोदीले भने । साथै, विद्यार्थीहरूका लागि अनलाइन कोचिङ प्रणाली पनि सञ्चालनमा ल्याइने पनि उनले बताए ।

